कान्जिरोवा पोस्ट मंसिर १७ दुनै डोल्पा ।
बालबिबाह विरुद्धको साझा अभियान सन्जालका सदस्यहरुकाे लागि दुई दिने क्षमता विकास तालिम सम्पन्न भएकाे छ ।तालिममा सहभागी सन्जाल सदस्यहरूलाई जिल्ला सञ्जाल डोल्पाका संयोजक रणबहादुर कार्की र बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कर्णाली प्रदेशका संयोजक चेतन गिरीले सहजीकरण गरेका थिए ।
सदरमुकाम दुनैस्थित हाेटल मुरमुरमा संचालन भई सम्पन्न तालिममा संस्थागत १३ जना सदस्यकाे सहभागिता रहेकाे थियाे ।नागरिक समाज र संजाल तथा अधिकारकर्मीको भूमिका, वकालत तथा पैरवी, बाल संरक्षण, बाल विवाहको नीतिगत व्यवस्था र वर्तमान अवस्थाका बारेमा सहजकर्ताहरुले प्रशिक्षण दिएका थिए । सामाजिक अभ्यास र व्यवहार, लैङगिकता, सामाजिक समावेशीकरण, बाल विवाह विरुद्धको साझा अभियान जिल्ला सञ्जाल डोल्पाको अवस्था, अभ्यास र भावि रणनीतिक योजनाका बारेमा समेत वृहत रुपमा समुहगत समीक्षा र छलफल गराएकाे थियाे।
यसका साथै बाल विवाह विरुद्धको साझा अभियान जिल्ला सञ्जाल डोल्पाको रणनीतिक योजनाको मस्यौदा तयार गरी सो उपर छलफल समेत गरिएकाे सहजकर्ता रणबहादुर कार्कीले जानकारी दिए ।डाेल्पामा २०७९ असार ३१ गते स्थापना भएको बालविवाह विरुद्धको साझा अभियान सन्जालले जिल्लामा बाल विवाह विरुद्धका अभियानात्मक गतिविधिहरु सशक्त र संगठित रुपमा सञ्चालन गर्दै आइरहेकाे छ ।
हाल नमूनाको रुपमा बाल विवाह विरुद्धका अभियनात्मक गतिविधिहरु डोल्पा जिल्लाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका र जगदुल्ला गाउँपालिकामा सञ्चालन भइरहेका छन् ।बालविवाह विरुद्धको साझा अभियान जिल्ला सञ्चालन डोल्पाको प्राविधिक सहयाेगमा जगदुल्ला गाउँपालिकाले २०८५ भित्रमा बालविवाहमुक्त गाउँपालिका घोषणा गर्नेगरी तयार पारिएकाको ५ वर्षे रणनीतिक योजनाकाे मस्यौदा कार्यपालिकाबाट अन्तिम स्वीकृतीको प्रतिक्षामा छ ।




