सरोज थापा Saturday, 30 March 2024

स्थानीय सरकार संग बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न



कान्जिरोवापोष्ट  चैत्र १७ डोल्पा । 

डोल्पाको सदरमुकाम दुनै बजारमा स्थानीय सरकार संग बीमा सम्बन्धी जनचेतनामुलक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा संचालित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुलाई बीमाका प्रकार,महत्व, फाईदा लगाएतका विषय सम्बन्धी जानकारी गराईएको थियो । 
कर्णाली प्रदेशमा १ लाख ९३ हजारले जीवन बीमा गरेको र २ लाख जना बीमाको दायरामा रहेको नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख पदम सोडारीले बताए । कर्णाली प्रदेशका दश जिल्लामा गरि १ सय ५ वटा शाखा र उपशाखा रहेको प्रमुख सोडारीले बताए । कर्णाली प्रदेशमा २.८ प्रतिशतले जीबन बीमा र १ प्रतिशतले कृृषि बीमा गरेको उनले बताए । बीमा बचत संगै सुरक्षाको हिसाबले फाईदा हुने भएको हुदा स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउन उनले आग्रह गरे । 

जीबन बीमा, स्वास्थ्य बीमा, कृषि बीमा, सवारी साधान बीमा, घर जग्गा लगाएतका बीमा गर्दा नागरिकलाई क्षती हुदा प्रत्यक्ष फाईदा हुने भएको हुदा स्थानीय सरकारले सहजीकरण गरिदिन डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद दाहालले बताए । प्राधिकरण मार्फत विभिन्न बीमा कम्पनीहरुका आफ्ना अभिकर्ताहरु गाउँगाउँ परिचालन गर्न पनि प्रजिअ दाहालले आग्रह गरे । जीवन बीमा होस्, स्वास्थ्य बीमा होस् कृषि बीमा होस् चलअचल सम्पती बीमा होस् या जुनसुकै प्रकारकार बीमा होस् मानव जीवनमा बचत संगै सुरक्षाका दृष्ट्किोणले अति आवश्यक पर्ने भएको हुदा स्थानीय सरकारले पनि विभिन्न प्रकारका सचेतनामुलक कार्यक्रम आवश्यक रहेको हुदा आगामी दिनमा संचालन गरिने काईके गाउँपालिका डोल्पाका अध्यक्ष अंगद कुमार रानाले बताए ।

 हरेक प्रकारको क्षतीको पुर्ति गर्ने काम बीमाले गरेको हुदा यसबाट राज्यलाई थप साथ सहयोग मिलेको हुदा बीमाको गतिविधिमा स्थानीय सरकार पनि जागरुक हुनुपर्ने अध्यक्ष रानाले बताए । अन्तरक्रिया कार्यक्रममा काईके गाउँपालिका, छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो, ठुलीभेरी नगरपालिका लगाएतका स्थानीय तहका जनप्रतिनिध, जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
Related News