कान्जिरोवापोष्ट
डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकामा आयोजित 'अध्यक्ष कप खेलकुद प्रतियोगिता-२०८२' रूपमा सम्पन्न भएको छ। नयाँ वर्षको अवसर पारेर गरिएको आयोजना शनिबार सम्पन्न भएको छ । अध्यक्ष कप खेलकुद प्रतियोगिता अवधि भर विभिन्न खेल विधामा रोचक प्रतिस्पर्धा देखिएको थियो ।
गाउँपालिकाको आयोजनामा पहिलो पटक सञ्चालन गरिएको अध्यक्ष कप खेलकुद प्रतियोगितामा पुरुष भलिबल तर्फको उपाधि जाजरकोटको नलगाड नगरपालिका-८ ले जितेको छ। फाइनल खेलमा नलगाड ८ ले सोही नगरपालिकाको १३ नं वडाको भलिबल टिमलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि हात पार्यो।
प्रतियोगितामा विजयी बनेको नलगाड ८ को टोलीले नगद एक लाख रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता नलगाड १३ को टोलीले पचास हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो। त्यस्तै पुरुष फुटबल तर्फको उपाधि मुड्केचुला गाउँपालिका-४ 'इल'को टिमले जितेको छ । इलको टिमले फाइनल खेलमा गाउँपालिका-९ 'होर्त' को टिमलाई पराजित गर्दै उपाधि हाँसिल गरेको हो। विजेता इलले एक लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता होर्तले पचास हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
ब्याडमिन्टनतर्फ पनि कडा प्रतिस्पर्धा देखिएको थियो । पुरुष एकलतर्फ खेम बहादुर रोकाया प्रथम र सागर बुढा द्वितीय भएका छन । यस्तै डबल तर्फ खेम बहादुर रोकाया र नवराज मल्लको जोडीले प्रथम स्थान हासिल गर्दा मिन बहादुर सुनार र मान बहादुर डाँगीको जोडी द्वितीय भएका छन । प्रतियोगिता अन्तर्गत उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष रूपमा सम्मान गरिएको थियो। भलिबल तर्फ नलगाडका चन्द्र परियार उत्कृष्ट स्पाइकर, प्रेम बुढा मगर उत्कृष्ट लिन्नो, सरोज बुढा मगर उत्कृष्ट सेटर र दीपक बस्नेत आयोजनाकै उत्कृष्ट खेलाडी घोषित भएका छन। फुटबलतर्फ उत्कृष्ट गोलरक्षकको उपाधि विशाल बुढाले पाएका छन् भने सबैभन्दा धेरै गोल गर्ने खेलाडी कमल बुढा घोषित भए । यस्तै उत्कृष्ट खेलाडी हरी रोकाया र उदाउँदो खेलाडीको रूपमा रमित शाही पुरस्कृत भएका छन।