काजिरोवापोष्ट समाचारदाता
प्रेम थापा जेठ १ डोल्पा ।
चितवनको भरतपुर महानगरपालिका र डोल्पाको मुड्केचुला गाउँपालिकाबीच आपसी सहकार्य र विकास साझेदारीका लागि सात बुँदे भगिनी सम्बन्धमा हस्ताक्षर गरिएको छ । भरतपुरकी नगर प्रमुख रेणु दाहाल र मुड्केचुला गाउपालिका अध्यक्ष दत्त बहादुर शाहीले संयुक्त रूपमा भगिनी पत्रमा हस्ताक्षर गर्दै ऐतिहासिक सहमति जनाएका हुन् । वागमती प्रदेशको भरतपुर र कर्णाली प्रदेशको मुड्केचुलाबीच धार्मिक, सांस्कृतिक तथा सामाजिक समानता रहेका छन् । देवघाटधाम र मुड्केचुला तीर्थस्थलजस्ता परम्परागत आस्थाका केन्द्रहरूलाई आधार बनाउँदै दुवै पालिकाले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने बताइएको छ । दुवै स्थानीय तहले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, प्रविधि, उद्यमशीलता र संयुक्त परियोजनामा सहकार्य गर्नेगरि मौलिक कृषि उपजको बजारीकरण, नयाँ प्रविधिको आदान–प्रदान, प्राविधिक तालिम, भ्रमण र सफल अभ्यासहरूको साझेदारी गर्दै सेवा प्रवाहमा प्रभावकारिता ल्याउने सहमति भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को व्यवस्था अनुसार, संयुक्त उद्यम, एम्बुलेन्स, दमकल सेवा, बस्ती विकास, तथा भौतिक–आर्थिक सहयोग जस्ता क्षेत्रमा साझेदारी विस्तार गरिने उल्लेख गरिएको छ। सम्झौता समारोह भरतपुर महानगरपालिकामा सम्पन्न भएको हो, जहाँ उपप्रमुख चित्रसेन अधिकारी, प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, मुड्केचुलाका उपाध्यक्ष दुदा रोकाया र प्रमुख प्रशासकीय अधिकृत रेशम महतारा पनि साक्षी रहेका छन । प्रमुख प्रशासकीय अधिकृत महताराका अनुसार यो भगिनी सम्बन्धले दुवै पालिकाको सेवा, सीप र सम्भावनाको सम्मिलन गरी समुन्नत विकासमा योगदान पुर्याउने रहेको कुरा बताउनुभएको छ ।

