कान्जिरोवा सम्बाददाता पुष १ डोल्पा ! फिफा विश्वकप फुटबलमा आइतबार हुने फाइनल खेलका लागि फिफाले रेफ्री तय गरेको छ । फाइनल खेल साबिक च्याम्पियन फ्रान्स र अर्जेन्टिना बीच हुँदैछ । सो खेलका लागि फिफाले रेफ्री साइमन म्यासिनियाकलाई जिम्मेवारी दिएको छ । ४१ वर्षका उनी पोल्यान्डका रेफ्री हुन् । उनैले २२औं संस्करणको विश्वकपको फाइनल खेल खेलाउने तय भएको छ । केही अन्तर्राष्ट्रिय अनलाइन मिडियाले रेफ्री साइमन अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको ठूला फ्यान रहेको दाबी गरेका छन् ।
रेफ्री साइमनले यस विश्वकपमा हालसम्म दुई खेल मात्रै खेलेका छन् । उनले समूह चरणमा फ्रान्स र डेनमार्कको खेल खेलाएका थिए । त्यसपछि दोस्रो खेल उनले अन्तिम १६ मा अर्जेन्टिना र अस्ट्रेलिया बीचको खेल पनि खेलाएका थिए । अब उनले कतार विश्वकपको तेस्रो खेल फाइनलमा खेलाउनेछन् । फाइनल खेल्न लागेका अर्जेन्टिना र फ्रान्सका एक–एक खेल फाइनलअघि नै खेलाइसकेको अनुभवी उनीसँग छ ।
जसमा फ्रान्सको खेल समूह चरणमा खेलाए भने अर्जेन्टिनाको खेल अन्तिम १६ मा खेलाए । फाइनल खेल्न लागेका दुवै टिमको खेल खेलाइसकेको र ती खेलमा रेफ्रीको तथ्यांक ‘फेयर’ देखिएको छ । यी दुई खेलमा उनको व्यक्तिगत तथ्यांक निकै राम्रो छ । यी दुई खेलमा उनले जम्मा ५ वटा मात्रै पहेंलो कार्ड देखाएका थिए भने रातो कार्ड देखाएका थिएनन् । उनले आफ्ना खेलमा एउटा पनि पेनाल्टी दिएका छैनन् । उनले अन्तिम १६ मा अर्जेन्टिना र अस्ट्रेलियाको खेल दौरान मात्रै २ वटा पहेंलो कार्ड देखाएका थिए । र, ती दुवै कार्ड अस्ट्रेलियन खेलाडीलाई देखाएका थिए ।
समूह चरणमा डेनमार्क र फ्रान्सको खेलमा जम्मा ३ वटा पहेंलो कार्ड देखाएका थिए । जसमा फ्रान्सलाई एउटा र डेनमार्कलाई २ वटा पहेंलो कार्ड देखाएका थिए । फाइनल खेलअघि २ खेल खेलाउँदा रातो कार्डबिना जम्मा ५ वटा पहेंलो कार्ड मात्रै देखाएका उनले यी दुवै खेलमा पेनाल्टी पनि दिएका छैनन् । यी रेफ्रीले खेलाएका दुवै खेलमा रेफ्रीको निर्णयलाई लिएर खास विवाद र तनाव केही देखिएको थिएन । ‘फेयर’ तथ्यांक भएकाले नै फाइनल खेलमा फिफाले साइमनलाई चुनेको हो ।
यता, सामाजिक सन्जालमा भने फिफाले साइमनलाई फाइनल खेलको रेफ्री चुनेपछि आलोचना सुरु भएको छ । साइमन मेस्सीका प्रशंस रहेको र ती रेफ्रीलाई अर्जेन्टिना–फ्रान्सको विश्वकपको फाइनल खेल खेलाउने जिम्मा दिएको भन्दै आलोचना सुरु भएको हो । रेफ्री साइमनले सन् २०१३ बाट रेफ्रीको करियर सुरु गर्नुअघि सन् २०१२ सालमा एक अन्तर्वार्तामा आफू मेस्सीको ठूलो फ्यान रहेको बताएका थिए । अहिले केही मिडियाले साइमनको सो अन्तर्वार्ताको पुरानो क्लिप सार्वजनिक गरेर फिफाको निर्णयको आलोचना गरिरहेका छन् ।
विश्वकपको फाइनल खेल्न लागेको अर्जेन्टिनाका सुपरस्टार खेलाडीको फ्यान रहेका रेफ्रीलाई फिफाले रेफ्रीको जिम्मेवारी तोकेपछि रेफ्रीले खेल निष्पक्ष रूपमा नखेलाउने र नतिजा प्रभावित पार्न सक्ने भन्दै फिफाको निर्णयको आलोचना भएको छ । स्मरण रहोस्, पोलिस रेफ्री साइमनकै देश पोल्यान्डलाई अर्जेन्टिनाले समूह चरणको तेस्रो खेलमा २–० ले पराजित गरेको थियो । यस हिसाबले हेर्दा समूह चरणमा अर्जेन्टिनाले पराजित गरेको टिम (देश)कै रेफ्रीले अब अर्जेन्टिनाले फ्रान्सविरुद्ध खेल्ने फाइनल खेलको रेफ्री गर्नेछन् ।